यहाँका अन्य रमाइला ठाउँहरुमा वडा नं.१, लब्दुङमा रहेको पाङसङ पास वा पाङसाङ भञ्ज्याङ हो । पाङसाङ, तामाङ भाषाको पङमा नाम अपभ्रंश भइ पाङसाङ बन्न पुगेको हो । पङमा भन्नाले ढल्नु भन्ने हुन्छ । पहिला यहाँ एक बुढी मान्छे ढलेकोले पङ्मा भन्दाभन्दै पाङसाङ हुन पुगेको भन्ने भनाइ रहेको छ । पास भन्नाले डाँडा छिचोल्ने ठाउँ भन्ने बुझिन्छ । यहाँबाट गङ्गाजमुना, रुवीभ्यालीवासीहरु यो ठाउँ हुँदै नुवाकोट, रसुवा हुँदै काठमाडौं र तिब्बत जाने भएकोले यस ठाउँलाई पाङसाङ पास भनिएको हो । यसलाई स्थानीय भाषामा पाङसाङ युङ च्यापा नामले पनि चिनिन्छ । पाङसाङ अर्थ युङ भनेको ढुङ्गा र च्यापा भनेको गाड्नु भन्ने अर्थ लाग्दछ । यो ठाउँबाट विशाल लेकाली फाँट फैलिएदै गएको देख्न सकिन्छ । यो भञ्ज्याङ ३८५० मिटरको रहेको छ । त्यसैले ठाउँबाट चारैतिरका रमणीय दृश्यहरु देख्न सकिन्छ । यहाँ उभिएर आँखाले भ्याएसम्म दृश्यवलोकन गर्न सकिन्छ । पाङसाङ पासबाट मुख्यतः हिमालहरुमा गणेश हिमाल श्रृङ्खलाको गणेश हिमाल ४, ५, ७, पाल्डोर हिमाल, माछापुछ्रे, मनास्लु, दोर्जेलामा, लाङटाङ हुन् ।
रुवीभ्यालीकै अर्को महत्वपूर्ण पास वडा नं.४, बोराङको सिङ्ल्हा पनि हो । यो पास पनि रुवीभ्यालीका, खनियाँबास र गङ्गाजमुनाबासीहरुको काठमाडौं र तिब्बत जाने पुरानो पासको रुपमा रहेको पाइन्छ । यहाँ सिङल्हा देवताको स्थान पनि छ । पहिला यहाँ चेली हराएर देवी भइ निस्केको अर्थमा यो ठाउँको नाम सिङ्ल्हा रहन गएको हो । तामाङ भाषाको सिङ्+ल्हा मिलेर सिङ्ल्हा बनेको हो । सिङ भनेको चेली र ल्हा भनेको लुकेको वा देवता भन्ने हुन्छ । सिङ्ल्हालाई चेली देवता मान्ने चलन रहेको छ । विशेषतः यो देवीमा सन्तान नहुनेहरु सन्तान पाउनको लागि शक्ति माग्न जाने, अन्न फारो होस् भन्नको लागि ढुकुटीबाट अन्न लगेर जाने र सिङ्ला देवतालाई चढाएर बाँकी गाउमा ल्याइ पुनः ढुकुटीमा राख्ने चलन रहेको छ । यसरी गरेमा अन्न फारो हुन्छ भन्ने विश्वास रहेको छ । यसरी नै कुनै मान्छे नयाँ झाँक्री वा बोम्बो निस्कन लागेको छ भने यहाँ लगेर शक्ति माग्ने चलन पनि रहेको छ । यो ठाउँ ४०४० मिटर उचाइमा अवस्थित छ । यहाँबाट गणेश हिमाल, लाङटाङ, प्याल्दोर हिमाल देख्न सकिन्छ । यसका साथै तराई, पहाडीभाग र लेकाली खर्कहरु पनि सजिलै देख्न सकिन्छ ।