यो गाउँपालिकाको अर्को महत्वपूर्ण प्राकृतिक सम्पदामध्येमा भीरपहराहरु पनि हुन् । यहाँ अनेकौँ भीरपहराहरु रहेका छन् । प्रायसः यहाँका गाउँ बस्तीहरुको आधारस्तम्भ नै भीरपहराहरु हुन् । अर्थात् हरेक गाउँ बस्ती भीरपहराको माथि रहेका छन् । यहाँ असङ्ख्य अग्ला भीरपहराहरु रहेका छन् । यी भीरहरुको आधार भनेका वाविल खोला (आदा खोला), मरस्याङ खोला (आँखु खोला), लप्सोङ खोला साथै देसेहेन खोला रहेका छन् । यी खोलाहरु विशाल भीरहरुको तल भएर बगेका छन् ।
यस्ता भीरपहराहरु वडा नं.२, तिप्लिङमा तीङघङ डाँडा, गोठ्यन डाँडा, वडा नं.३, सेर्तुङमा गल्काभीर, गङरेनभीर, मङ्लेभीर, गोछार भीर, च्याम्रा भीर, सेक्पर भीर, वडा नं.५, लापा ठूलो गाउँमा रहेका भीर पहराहरुमा उचो लुप्चेत भीर, स्याम्राङ भीर, ल्होम्जेट, पुल्यान्ध्र भीर आदि रहेका छन् । यी भीरपहराहरु बहुमूल्य रुवी क्वार्जलगायतका खानी तथा महङ्गो जडीबुटीको स्रोत भएको पाइन्छ । अर्कोतिर यी भीरपहराहरुलाई विभिन्न रुपमा उपयोग गर्न सम्भावना पाइन्छ । यति मात्र होइन यी भीरपहराहरुलाई जस्तैः रक क्लाइमबिङ, बन्जी जम्पिङ र रक गार्डेन आदिको लागि उपयुक्त रहेका छन् । आवश्यक अध्ययन गरेर यी भीरपहराहरुलाई उपयुक्त ठाउँको रुपमा निर्माण गरेर पर्यटकहरुलाई आकर्षण गरेर पालिकाको आयस्रोत वृद्धि गर्न सकिने सम्भावना देखिन्छ ।